काठमाडौँ २४ मंसिर
१८८१ अंकको उच्चतम बिन्दुमा पुगेर फर्किएको सेयर बजारमा अहिले तिब्र उतार चढाव छ। पछिल्लो केहि साता लगातार घटेको बजार आइतबार बाहेक यो साताका तीन दिन उच्च अंकले बढेको छ।
सोमबार र मंगलबार खुल्ने बित्तिकै तिब्र गतिमा घटेको बजार पछि सम्हालिएर उकालो लागेको थियो। नेपाल राष्ट्र बैंकले मार्जिन लेन्डिङको सिमा बढाउने हल्ला चलाएर बजारको ओरालो लाग्ने क्रम रोकिएको थियो। बुधबार भने खुलेदेखिनै बजार उकालो लाग्यो।
लगातार उतार चढाव देखिएको बजार अब कता लाग्ला भन्ने जिज्ञासा आमलगानीकर्तामा छ। विश्लेषकहरु केहि सम्हालिए पनि बजार ‘करेक्सन’ को दिशामा रहेको बताउँछन्। केहि लगानीकर्ताहरु भने बजार अब नघट्ने र नयाँ उचाइतर्फ लाग्ने दावी गर्दै आएका छन्।
विश्लेषक र लगानीकर्ताहरुसँग कुराकानी गर्दा उनीहरुले बजार बढ्ने र घट्ने सम्भावनाका बारेमा यसरी बुँदागत रुपमा बताए।
बजार बृद्धि हुन सक्ने कारण
१) नेपालको सेयर बजारमा बैंक तथा वित्तीय संस्थाको दवदवा वढी छ। चालु आर्थिक बर्षको पहिलो त्रैमासिकमा अधिकांश बैंक तथा वित्तिय संस्थाले राम्रो मुनाफा कमाएका छन्। वाणिज्य बैंकहरुले ४७ प्रतिशतले नाफा बढाए। जसले गर्दा यो बर्ष पनि लोभलाग्दो लाभांशको आशमा सेयर बजारमा अझ माथि जान सक्छ।
२) शोधनान्तर बचत र समग्र आर्थिक अवस्था। चालु आर्थिक बर्षको पहिलो दुई महिना घाटामा रहेको मुलुकको शोधनान्तर अवस्था अहिले बचतमा गइसकेको छ। सुरुमा न्यून देखिएको रेमिट्यान्स बृद्धिमा पनि केहि बढोत्तरी आएको छ। देशका अन्य समग्र आर्थिक परिसूचक पनि ठिक अवस्थामा छन्। यसले सेयर बजारको बृद्धिलाई बल पुग्न सक्छ।
३) मार्जिन लेन्डिङ अझै पनि न्युन छ। बाणिज्य बैंकहरुबाट अहिलेसम्म न्युन मात्र मार्जिन लेन्डिङ कर्जा प्रवाह भएको छ। नेपाल राष्ट्र बैंकका अनुसार अहिलेसम्म बाणिज्य बैंकहरुले दुई प्रतिशत अर्थात २९ अर्ब हाराहारी मात्र सेयर धितोमा कर्जामा प्रवाह गरेका छन्। दुई प्रतिशतभन्दा वढि विस्तारमा जान बैंकहरुलाई स्पेस छ।
बजारलाई ओरालो लगाउन सक्ने कारण
१) बैंक तथा वित्तिय संस्थाको ब्याजदर बृद्धि भइरहेको छ। पछिल्लो समय बैंक तथा वित्तीय संस्थाको ब्याजदर बढ्दो दरमा छ। नेपालको सेयर बजार र ब्याज दरबीच सधैं उल्टो संबन्ध रहँदै आएको छ। हरेक पटक ब्याजदर घटेको समयमा नै सेयर बजार उच्च बिन्दुमा पुग्ने र ब्याज बढ्ने थालेपछि घट्ने प्रवृत्ति रहेको छ। ब्याजदर बढेको बेला सेयर बजारमा लगानी गर्नभन्दा सुरक्षित तवरले बैंकमा पैसा राख्ने मानसिकता धेरै जसो लगानीकर्तामा देखिन्छ।
२) भारु ५०० र १००० को नोट प्रतिबन्धले पनि बजारलाई छोएको छ। भारतसँग व्यापार ब्यवसाय गर्दै आएका धेरै ब्यापारी सेयर बजारका पनि लगानीकर्ता छन्। ठूला दरका भारु नोट प्रतिबन्धसँगै उनीहरु सेयर बेचेर भए पनि दायित्व भुक्तानी गर्ने दवावमा छन्।
३) तरलता अभाव थपिँदै गएको छ। बैंक तथा वित्तिय संस्थाले तरलता अभाव भएसँगै मार्जिन लेन्डिङ कर्जामा कडाइ गर्न थालेका छन्। एकातिर सेयर धितोमा लिएको कर्जाको ब्याजदर बढ्छ भने अर्कोतिर यस्तो ऋण प्रवाह गर्न बैंक तथा वित्तिय संस्थाले रुची राख्न छोड्छन्। यसले पनि सेयर बजारमाथि दवाव परेको छ।
४) बजारको स्वाभाविक चक्र पनि एउटा कारण हो। अधिकांश बैंक तथा वित्तीय संस्थाले गत आर्थिक बर्षको लाभांश घोषणा गरिसकेका छन्। यस्तो बेला बिगतमा पनि सेयर बजार ओरालो लाग्ने गरेको देखिन्छ। त्यसमाथि केहि महिनाअघि मात्र बजारले उच्चतम अंक छोएको हुँदा तत्कालै माथि जाने संभावना कम रहन्छ।
५) नेपाल राष्ट्र बैंकको प्रावधान अनुसार सबै बैंक तथा वित्तिय संस्थाले पुँजी बृद्धि योजना सार्वजनिक गरिसकेका छन्। पुँजी बढेपछि संस्थाको समग्र नाफा बढे पनि प्रतिसेयर आम्दानी पुरानै अवस्थामा नरहन सक्छ। यसले सोझो असर लाभांशमा पर्न जान्छ र सेयर मूल्य घट्ने अवस्था आउँछ।
६) पछिल्लो समय रेमिट्यान्सको बृद्धि दर लगातार ओरालो लागिरहेको छ। गत असोज मसान्तमा ३ प्रतिशतले मात्र रेमिट्यान्स आप्रवाह बढेको छ। गत आवको सोहि अवधिमा २४ प्रतिशतले रेमिन्ट्यान्स बृद्धि भएको थियो। रेमिट्यान्स आप्रवाह बृद्धिमा आएको कमीले समेत सेयर बजारमा दबाब पर्नेछ।