20.3 C
Nepal
Saturday, September 23, 2023

माओवादीको अध्यक्षमा प्रचण्ड निर्विरोध नि र्वाचित

नेकपा माओवादी केन्द्रको नवनिर्वाचित केन्द्रीय कमिटीको बैठकले...

घरधनी सांसदलाई घरभाडा

काठमाडौं — राजधानीमा घर हुने सांसदले घर छैन...

कांग्रेस बैठकमा देउवाको आलोचना: कसले के भने ?

पत्रपत्रिकाबाटकांग्रेस बैठकमा देउवाको आलोचना: कसले के भने ?

काठमाडौं – राष्ट्रिय सभाको निर्वाचनबारे छलफल गर्न बसेको कांग्रेस केन्द्रीय समिति बैठकमा नेताहरू आरोप–प्रत्यारोपमा उत्रिएका छन् । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले ‘निर्वाचनबारे बोल्नुस्, पराजयको समीक्षा पछि गरौँला’ भन्दै बैठकको सुरुवात गरेका थिए । प्रधानमन्त्रीनिवास बालुवाटारमा बिहीबार बसेको बैठकमा २९ केन्द्रीय सदस्यले पक्ष र विपक्षमा धारणा राखे । आजको नयाँ पत्रिकामा खबर छ ।

सभापति देउवाले संविधान निर्माण कांग्रेस सभापति सुशील कोइरालाको नेतृत्व तथा संविधानको कार्यान्वयनका लागि तीन तहको निर्वाचन पनि कांग्रेसकै नेतृत्वमा भएको बताएका थिए । उनले निर्वाचनमा नतिजा भने कांग्रेसको पक्षमा नआएको धारणा राखे । देउवाले राष्ट्रिय सभाको निर्वाचनमा केन्द्रित भएर बोल्न आग्रह गर्दै चुनावी समीक्षा राष्ट्रिय सभाको निर्वाचनपछि बस्ने बैठकमा गरौँला भनेका थिए ।

समिति खारेज गर्न जोशीको माग
सभापति देउवापछि बोलेका नेता नवीन्द्रराज जोशीले नेतृत्वको आलोचना गरे । उनले चुनावी हारको जिम्मेवारी नेतृत्वले लिनुपर्ने बताए । पार्टी हार्नुमा अवैधानिक संसदीय समिति र कार्यसम्पादन समिति गठन भएको बताउँदै दुवै समिति खारेज गर्नुपर्ने माग गरे ।

गुरुङले विरोध गरेपछि देउवाले जब बीचमै रोके
युवा नेता कल्याण गुरुङ बैठकमा सुरुदेखि नै आक्रामक ढंगले प्रस्तुत भए । उनले सभापतिले अवैधानिक कार्यसम्पादन समिति र विधानविपरीत संसदीय समिति निर्माण गरेको, आफूलाई मन परेकालाई रोजीरोजीको अवसर दिएको, अवसरको न्यायोचित वितरण नगरेको भन्दै झन्डै तीन मिनेटजति बोल्दा देउवाले छिटो गर्नुस्, छिटो गर्नुस् भन्दै रुलिङ गरे । तैपनि गुरुङले बोल्न छाडेनन् । उनले लोकतन्त्रका लागि संघर्ष गरेका, जेल बसेका, दुःख गरेकालाई नियुक्त नगरी गलत म्यासेज जाने गरी प्रदेश प्रमुख नियुक्त गरेको भन्दै आलोचना गरिरहेपछि सभापतिले रिसाएर गुरुङलाई बीचमै रोक्दै नेता विमलेन्द्र निधिलाई बोल्न माइक दिए ।

निधिले भने, चुनाव नै सकिएको छैन
पौडेल पक्षका नेताहरू देउवाविरुद्ध बोल्न थालेपछि उनीनिकट नेताहरू भने बचाउमा लागे । नेता निधिले राष्ट्रिय सभाको चुनाव सकिएको छैन, अहिले चुनावी समीक्षा नगरौँ, पछि गरौँ भन्दै राष्ट्रिय सभा निर्वाचनबारे मात्रै बोले ।

पौडेलले भने, आत्मालोचना गर्न तयार छु
नेता रामचन्द्र पौडेलले पार्टी हारेकोमा आफू आत्मालोचना गर्न तयार रहेको बताउँदै पराजयको जिम्मेवारी लिन सबै तयार हौँ भने । ‘कार्यसम्पादन र संसदीय समिति विघटन हुनुपर्ने, विधानअनुसारका समिति निर्माण गर्नुपर्ने, कांग्रेसलाई कहाँ–कहाँ करेक्सन गर्नुपर्ने हो सबै पछि कुरा राख्छु’ भन्दै पाँच मिनेटमा आफ्ना भनाइ सिध्याए ।

भण्डारीले जब रोएको र कराएको प्रसंग झिके
नेता चन्द्र भण्डारीले निर्वाचनबारे आफ्नो दुखेसो पोखे । ‘म तपाईं (सभापति) कोमा अनुनयविनय गर्न आएँ, रोएँ, कराएँ । एनपी साउदलाई लिएर आएँ । मेरो निर्वाचन क्षेत्रको सीमांकन मिलाइदिनुस् भनेँ, तर तपाईंले नमिलाउँदा म पराजित भएँ,’ उनले भने । पार्टीले बेहोरेको हारको जिम्मा सभापतिले लिनुपर्छ भन्दै नेतृत्वको आलोचनामा उनले समय खर्चिए । ‘धनी बाउले छोरीलाई दाइजो दिएजस्तै समानुपातिक टिकट वितरण गर्नुभयो । यो राजनीतिक भ्रष्टाचार हो,’ भण्डारीले भने ।

यादव जब बचाउमा उत्रिए
सभापतिको अलोचना हुन थालेपछि केन्द्रीय सदस्य महेन्द्र यादवले आफ्ना धारणा राखे । ‘पार्टी ०६४ मा पनि हारेको हो । ०७० मा फेरि ठूलो भयो । हामीले समानुपातिकमा एमाले हाराहारी मत ल्याएका छौँ । प्रत्यक्षमा हारेका छौँ, तर हारको जिम्मा सभापतिलाई मात्र दिन पाइँदैन । दोष लिने हो भने सबैले लिनुपर्छ,’ यादवले भने ।

पौडेलले जब मत नै कम आएको विषयमा बोले
युवा नेता प्रदीप पौडेलले निर्वाचनमा पराजय हुनुपर्नाको कारणबारे धारणा राखे । ‘हामी अहिले एमालेभन्दा केही हजारले पछि छौँ । तर, हामी हारेका होइनौँ भनिरहेका छौँ । नेपालको राजनीतिको पहिलो पार्टी दोस्रो हुन पुगेको छ । मूर्धन्य नेता हार्नुभयो । प्रदेशमा हाम्रो सरकार बन्दै छैन । हारेका छैनौँ भनेर आत्मरतिमा नरमाऔँ,’ उनले भने ।

सभापति देउवाको निर्णयमा अरू नेता साक्षी बसेको भन्दै उनले ‘अब कुनै विधानविपरीत काम भयो भने नेताहरू नंग्याउने कामको नेतृत्व गर्छु’ भन्दै विधानसम्मत पार्टी चलाउन, समीक्षा बैठक छिटो तोक्न र महासमिति बैठक चाँडो बोलाउन माग गरे ।

धनराजले जब चाकरीको विषय उठाए
केन्द्रीय सदस्य धनराज गुरुङले सभापति देउवा पक्षका नेताको आलोचना गरे । ‘चाकरीको पनि हद हुन्छ । चाकरी गर्नेलाई चाकरीको भाषा नबोेलेसम्म खाएको पनि पच्दैन । अवैधानिक कमिटी विघटन गरेर पार्टीलाई अब नयाँ ढंगले चलाउनुपर्छ,’ उनको भनाइ थियो ।

छाया, दायाँ र बायाँ कुन सभापतिको चाकडी गर्ने ?
नेता अर्जुननरसिंह केसीले सभापतिको कुरा त सभापतिलाई थाहा छ, तर कुनचाहिँ सभापतिको चाकरी गर्ने भन्दै व्यंग्य गरे । ‘यहाँ त सभापतिको छाया सभापति, दायाँ सभापति, बायाँ सभापति छन्, कुन सभापतिका चाकडी गर्नुपर्ने हो, सभापतिजीले भन्दिनुप¥यो,’ उनले भने । आफू संसदीय समितिमा भए पनि प्रदेश सभामा समानुपातिकको सूची हेर्न नपाएको भन्दै असन्तुष्टि जनाए ।

दोषी भए सबै दोषी
केन्द्रीय सदस्य श्याम घिमिरेले पार्टी हारको जिम्मा सभापतिले मात्रै नभई सबैले लिनुपर्ने बताए । ‘पार्टी हारको दोष लिने भए सभापतिले मात्रै होइन, निर्णय प्रक्रियामा सहभागी सबैले लिनुपर्छ,’ उनले भने ।

सभापतिलाई अझै बलियो बनाउन माग
नेता एनपी साउदले सभापतिमुखी विधान बनाउनुपर्ने बताए । अहिलेको विधान साझा नेतृत्वको भएको भन्दै शक्तिशाली सभापति बनाउन माग गरे । ‘पार्टी पराजित हुनुमा एउटालाई मात्र दोष नदिउँ, मैले पनि फरकफरक नेताले टिकट दिएर पाँचपटक निर्वाचन लडेँ । हारजित हुने एउटा कुरा हो । नेताहरू समितिमा बस्ने, तर हारेपछि विरोध गर्न सुहाउँदैन,’ उनले भने ।

हामीलाई मात्रै दोष दिने ?
नेता डा. प्रकाशशरण महतले आफूहरूलाई मात्रै सभापतिको निकट भन्दै आलोचना गरिएकोमा असन्तुष्टि जनाए । ‘सभापतिको नजिक को हो, को होइन, सभापतिले भनिदिनुप¥यो । सभापतिको नजिक भनेर सधैँ अपजस हामीले मात्रै खेप्नुपर्ने, सभापतिलाई मात्र दोष दिने ?’ उनले भने । कार्यसम्पादन समिति र संसदीय समिति विघटन गर्ने हो भने पहिले पदाधिकारी चयन गर्नुपर्ने उनले माग गरे ।

आङदेम्बेले जब पागलपनको विषय उठाए
केन्द्रीय सदस्य भीष्मराज आङदेम्बेले भिड पाउनेबित्तिकै पार्टीविपरीत भाषण ठोक्ने पागलपन नेताहरूका कारण कांग्रेसले चुनाव हारेको बताए । ‘भूगोलको कुरा सबैले उठाउने, तर भूगोल र जातिको प्रतिनिधित्व नगरी संसदीय समिति बनाउँदा कांग्रेस हार्नुपरेको छ,’ उनले भने ।

निर्णय नै सुन्न नपाएको गुनासो
डा. रामशरण महतले उपस्थितिमा मात्र हस्ताक्षर गर्ने गरे पनि निर्णयमा सहभागी नगराइएको प्रति असन्तुष्टि जनाए । ‘हाजिर मात्रै गराउने, तर निर्णय सुनाएर चित्त नबुझ्नेलाई ‘नोट अफ डिसेन्ट’ लेख्न नदिने शैली उचित भएन,’ उनले भने ।

महेशका मिलाउने कुरा
केन्द्रीय सदस्य महेश आचार्यले पक्ष र विपक्षमा बहस गर्नुभन्दा ‘ठोस कार्ययोजना लिएर अघि बढौँ’ भन्दै अवसर नपाएकालाई अवसर दिन माग गरे ।

सभापतिले विश्राम लिए पनि ठिकै नलिए पनि ठिकै
डा. मीनेन्द्र रिजालले सभापति र वरिष्ठ नेताले विश्राम लिए पनि ठिकै नलिए पनि ठिकै भन्दै सबै मिलेर जाँदा हुने विषय राखे । पहिलेभन्दा कांग्रेसको मत बढेको उनको भनाइ थियो ।

शुक्रबार पुनः बैठक, समीक्षा बैठक निर्वाचनपछि
पहिलो दिन २९ केन्द्रीय सदस्यले बोले पनि अझै केही नेताले बोल्न बाँकी छ । नेता प्रकशमान सिंह, कृष्ण सिटौला, बलबहादुर केसीसहितका नेताले बोल्ने पालो छ । शुक्रबार ११ बजेलाई पुनः बैठक बोलाइएको छ । निर्वाचनमा बेहोरेको हारबारे २४ माघको राष्ट्रिय सभाको निर्वाचनपछि छुट्टै समीक्षा बैठक डाक्ने तयारी सभापति देउवाको छ ।

645Views

Check out our other content

Check out other tags:

Most Popular Articles