काठमाडौँ, २३ साउन ।
बूढीगण्डकी जलविद्युत् आयोजनाका प्रभावितले चालु आर्थिक वर्षभित्रै मुआब्जा वितरणको कार्य सम्पन्न गर्न ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीसँग माग गरेका छन् ।
आर्थिक वर्ष २०७४÷७५ भित्र डुबान क्षेत्रमा पर्ने सबै बासिन्दालाई मुआब्जा वितरण गर्न र स्थानीयको माग तथा भावनाबमोजिम काम गर्न पनि उनीहरुले सरकारसंग आग्रह गरेका छन् ।
बूढीगण्डकी जलविद्युत् आयोजनाका प्रभावितले आज ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीलाई ज्ञापनपत्र बुझाउँदै आव २०७३÷७४ मा साविकका छ गाविसमा मात्र मुआब्जा वितरण सुरु गरिएकोमा यस वर्ष डुबान क्षेत्रमा पर्ने गोरखा र धादिङका गरी साविकका २७ गाविसमा नै वितरण गर्न माग गरेको हो ।
डुबान क्षेत्रका कसैले मुआब्जा पाएर आफ्नो बन्दोबस्त सुरु गरिसके भने धेरै बासिन्दा अझै अन्योलमा रुमल्लिरहेकामा प्रभावितले मन्त्री शाहीको ध्यानाकर्षण गराएका थिए ।
कुल एक हजार २०० मेगावाट क्षमताको आयोजनाका लागि मुआब्जा वितरण गर्न रु ६० अर्ब आवश्यक पर्नेछ । सरकारले चालु आवमा सो कार्यका लागि रु १० अर्ब विनियोजन गरेको छ ।
सरोकार समितिले मुआब्जा वितरण गर्दा यति रकमले नपुग्ने भन्दै बजेटको अभाव हुन नदिन पनि माग गरेको छ । समितिले आरुघाट, आर्खेत र खहरे बजारको पनि तत्काल मुआब्जा निर्धारण गरी वितरण सुरु गर्न पनि माग गरेको छ ।
समितिले बूढीगण्डकी आयोजना चिनियाँ कम्पनीलाई निर्माणको जिम्मा दिँदा आफूहरुको रोजगारी, सेयर लगायतका विषय के हुने भन्ने प्रश्न पनि गरेको छ ।