नेपालगन्ज, २९ जेठ ।
आगामी असार १४ गते हुने स्थानीय तहको चुनावको तयारी बाँकेमा तीव्र रुपले अघि बढाइएको छ ।
चुनावमा मतदातालाई निर्धक्क भएर सहभागी हुने वातावरण मिलाउन जिल्ला निर्वाचन व्यवस्थापन समिति बाँकेले जिल्लाका सबै मतदान स्थलहरु र मतदान केन्द्रहरुको अवलोकन र अनुगमन सुरु गरेको छ ।
जिल्ला निर्वाचन व्यवस्थापन समितिका संयोजक तथा बाँकेका प्रमुख जिल्ला अधिकारी रबिलाल पन्थको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक टेकप्रसाद राई, सीमा सुरक्षा कार्यालय महेन्द्रनगरका प्रमुख, सशस्त्र प्रहरी उपरीक्षक राजु अधिकारी लगायतको संयुक्त टोलीले बाँकेका बिभिन्न मतदान स्थलको अनुगमन गर्न सुरु गरेको हो ।
चुनावको समयमा मतदान स्थलसम्म जानको लागि बाटोको अवस्था, मतदानस्थल तथा केन्द्रको सुरक्षाको अवस्था र मतदाताको मनोभावना बुझ्नको लागि संयुक्त टोलीले अनुगमन सुरु गरेको बाँकेका प्रमुख जिल्ला अधिकारी तथा निर्वाचन व्यवस्थापन समितिका संयोजक रबिलाल पन्थले जानकारी दिए ।
‘बाँकेका सबै स्थानीय तहका मतदान केन्द्रमा पुगेर त्यहाँको भौगोलिक अवस्था, मतदाता मतदान केन्द्रसम्म पुग्ने बाटोको अवस्था र सुरक्षाको प्रबन्ध मिलाउनको लागि संयुक्त अनुगमन गरिएको हो ‘ उनले भने ।
संयोजक पन्थले चुनावलाई अत्यन्त मर्यादित र भयरहित तरिकाले सम्पन्न गर्नको लागि आफ्नो कुनै कसर बाँकी नराख्ने बताएका छन् ।