काठमाडौँ, ८ मंसिर
एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी)ले मकवानपुर क्षेत्र नं १ का आफ्ना पार्टीका उम्मेदवारको कीर्ते दस्तखत गरी राष्ट्रिय प्रजातन्त्र पार्टीलाई समर्थन दिएको प्रचार गरिएकामा आपत्ति जनाएको छ ।
सो क्षेत्रका प्रतिनिधिसभा र प्रदेशसभा चुनावका उम्मेदवार क्रमशः रामकृष्ण सापकोटा र चेतनारायण रानाको दस्तखत कीर्ते गरी राप्रपाले आफ्ना उम्मेदवार कमल थापालाई सहयोग गर्ने भनी प्रचार गरिएकामा त्यस्तो सूचनाको पछाडि नलाग्न केन्द्रीय सदस्य सुन्दर पाण्डेले जानकारी दिनुभयो ।
पार्टीले सापकोटा र रानाको दस्तखत कीर्ते गर्नेलाई कानूनबमोजिम सजाय गर्न माग गर्दै उनीहरुको उम्मेदवारी कायमै रहेको र उनीहरु उक्त क्षेत्रमा चुनावी अभियानमा केन्द्रित रही मतदातालाई पार्टीका कार्यक्रम र योजनाबारे जानकारी गराइरहेको बताइएको छ ।
राप्रपाले बिहीबार सो विषयमा विज्ञप्ति जारी गरी सापकोटा र रानाले आफ्ना उम्मेदवार थापालाई सहयोग गर्ने प्रतिबद्धता जनाएको समाचार सार्वजनिक गरेको थियो ।