विश्वस न्युज डट कम राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

उदाउँदो सूर्यलाई अघ्र्य दिई छठ समापन

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ, २८ कात्तिक – आज बिहान उदाउँदो सूर्यलाई पूजाआजासहित अघ्र्य दिई चार दिन लामो छठ पर्वलाई समापन गरिएको छ ।

छठ पर्वको अवसरमा मंगलबार काठमाडौँको विष्णुमती खोलामा छठीमाताको पूजा गर्दै व्रतालु । तस्वीरः चन्द्रकला क्षेत्री , रासस

कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने पर्वको मुख्य दिन मङ्गलबार अस्ताउँदो सूर्यलाई पूजाआजासहित अघ्र्य दिइएको थियो । उपत्यकाका गुह्येश्वरी, कमलपोखरी, गहनापोखरी, शङ्खमूल, थापाथली, वाग्मती, विष्णुमती र नख्खु नदी किनारका अन्य स्थानमा पनि छठीघाट निर्माण गरी सूर्यदेवको आराधना र उपासना गर्न भक्तजनको भीड लागेको थियो ।

गुह्येश्वरी मन्दिरअघिको वाग्मतीबाट गौरीघाटसम्मको नदी किनारको दायाँबायाँ बेहुलीझैँ सिङ्गारेर छठ घाट बनाइएको थियो । लाखौँ भक्तजनले मङ्गलबार बेलुकी यहाँ अस्ताउँदो सूर्यलाई अघ्र्य दिएका थिए । तिनै भक्तजनले आज उदाउँदो सूर्यलाई अघ्र्य दिएर चार दिन लामो सूर्य उपासना पर्व अन्त्य गरेको छठ पूजा समितिका सदस्य चन्द्रकान्त यादवले राससलाई जानकारी दिनुभयो ।

उखुको लाँक्रा र केराको घरीसहित पूजा सामग्री लिएर भक्तजनले नदी किनारमा अस्ताउँदो र उदाउँदो सूर्यको उपासना गरेका थिए । आइतबार बिहान स्नान गरी चोखो नितो गरेर बसेका बर्तालुले आज बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिई छठ मनाएमा मनोकाङ्क्षा पूरा हुने, छाला एवं आँखाका रोग नलाग्ने धार्मिक विश्वास छ । दुई दशक अघिदेखि राजधानीमा शुरु भएको छठमा प्रत्येक वर्ष सहभागी हुने भक्तजनको सङ्ख्या बढिरहेको छ । विसं २०४६ अघि छठ तराई क्षेत्रमा मात्र मनाइन्थ्यो । हाल पहाडी क्षेत्रसहित प्रमुख शहरमा छठको रौनक बढ्न थालेको छ । यस पर्वमा पहाडी क्षेत्रका मानिस पनि उत्तिकै सहभागी हुन थालेका छन् । तराई र पहाडका मानिसका बीच सामाजिक सद्भाव बढाउने पर्वका रुपमा छठ स्थापित हुन थालेको छ ।

आज बिहान छठ सकिएपछि नदी किनारमा सफाइ अभियान शुरु गरिने वाग्मती सुन्दरता सरोकार मञ्चका अध्यक्ष उत्तम पुडासैनीले जानकारी दिनुभयो । सफाइमा काठमाडौँ क्षेत्र नं ४ का सांसद गगनकुमार थापा, गुह्येश्वरी विनायक युवा क्लबका सदस्य, सफाइ अभियानकर्मीलगायतको सहभागिता रहने बताइएको छ । छठ मनाउने क्रममा फोहर जम्मा भएकाले चार दिनसम्म निरन्तर गुह्येश्वरी–गौरीघाट क्षेत्रमा सफाइ अभियान चलाइने अध्यक्ष पुडासैनीले बताउनुभयो । भक्तजनलाई मञ्चले नदीको सौन्दर्यता नबिग्रने गरी पर्व मनाउन आह्वान गर्दै माइकिङसहित जनचेतनामूलक अभियान चलाएको थियो ।

पोखरा– उदाउँदो सूर्यलाई अघ्र्य अर्पण गर्दै पोखरामा छठ पर्व आज विधिवत रुपमा सम्पन्न भएको छ । जलाशयको किनारमा छठ पूजाका लागि राखिएका ठेकुवा, भुसुवा, केरा, मिठाई, उखुलगायतका प्रसाद सूर्यदेव र षष्ठी माता अर्थात् छठी मातालाई अघ्र्य अर्पन गरेपछि पर्व सम्पन्न भएको हो ।

पोखराको फेवातालस्थित केदारेश्वर मन्दिरको क्षेत्र र सेती गण्डकी र कालीखोलाको दोभानमा रहेको रिट्ठाघाटमा ब्रतालुले विधिपूर्वक छठ पुजन सम्पन्न गरेका हुन् । यी पर्व हेर्नका लागि ठूलो सङ्ख्यामा पोखरेली पूजास्थलमा पुगेका थिए । मधेशी समुदायमा मात्र सीमित रहेको यो पर्व केही वर्षदेखि पहाडी समुदायमा पनि आफ्नो प्रभाव विस्तार गर्दै गइरहेको देखिन्छ ।

बुटवल– रुपन्देहीको शुद्धोद्धन गाउँपालिका–१ घमाहा खोलामा उल्लासपूर्ण वातावरणमा छठ पर्व सम्पन्न भएको छ । अघिल्लो दिन अस्ताउँदो सूर्यलाई अघ्र्य दिएर रातभर जाग्राम बसेको स्थानीयवासी सेतही लोधले बताउनुभयो ।

छठ पूजा गर्ने स्थल ध्वजापताकाले सजाइएको थियो । राम्रा र सुकिला लुगा लगाएर खोलामा पानीभित्र रहेर महिलाले सूर्यदेवको आरधाना गर्दै अघ्र्य दिएर दीप प्रज्जवलन गरेका थिए । छठ पर्व यस क्षेत्रमा सात वर्षदेखि मनाउन थालिएको स्थानीयवासी दौलती लोध बताउनुहुन्छ । उहाँले भन्नुभयो, “श्रीमानको लामो आयु र आरोग्य तथा सुस्वास्थ्यका लागि छठ मनाइन्छ ।

जनकपुरधाम– आस्थाको महापर्व छठका ब्रतालुले आज यहाँ उदाउँदो सूर्यलाई अघ्र्य दिई पर्वको समापन गरेका छन् । ब्रतालुले गङ्गासागर र अरगजा लगायतका पोखरीमा दुवै हत्केलामा पिठार र सिन्दूर लगाई अक्षता, फूल लिई आफ्नो खेतबारीमा उत्पादन भएका सामग्री र घरमा बनाइएको विशेष प्रकारको पकवान सूर्यलाई अघ्र्य अर्पण गरेका थिए ।

अघ्र्यमा ठकुवा, कसार, केरा, उखु, मेवा मिष्ठान, गेडागुडी र विभिन्न वनस्पति, भुसवा, माटोको हात्ती, सूप, कनसुपती, कलशसहितको घैँटो सूर्यलाई अर्पण गर्ने चलन छ । सूर्यलाई दिइने अघ्र्यमा ठकुवालाई समृद्धि, उखुलाई आरोग्य, केरालाई विष्णु र कृषि उत्पादनलाई प्रकृतिप्रति कृतज्ञताको द्योतक मानिन्छ । छठको मूल सन्देश भनेकै समन्वय, समावेशी र सादगीपन हो । छठ पर्व महिलाको अगुवाइमा समाज र परिवारको हितका लागि सङ्कल्प गरिन्छ, जो यसको महत्वपूर्ण पक्ष हो ।

अस्ताउने र उदाउने सूर्यलाई अभिनन्दन गर्नुको अर्थ जीवनमा सुख, दुःख, रोदन र हाँसोलाई समान रूपमा र जीवनकै पाटोको रूपमा लिइनु हो । धनी, गरीब एकै ठाउँमा उपस्थित भई पूजा गर्नु ईश्वरीय सत्ताको दृष्टिमा सबै समान हुने सन्देश दिन्छ भने सूर्यको उपयोगिता कृषि संस्कृतिमा अपरिहार्य भएको अभिव्यक्ति पनि यस पर्वले दिन्छ ।

आफ्नै खेतवारीमा उब्जने कृषि उत्पादनलाई प्रयोग गर्नु यस पर्वको थप मौलिकता विशेषता हो । सूर्यको आराधनाबाट चर्मरोग निको हुनुकासाथै सन्तान र धन प्राप्ति हुने जनविश्वास छ । ऋग्वेदमा सूर्य नै बल, यश, चक्षुस्रोत, आत्मा र मन भएको कुरालाई ध्यानमा राखी पनि ब्रतालुले यस पर्वमा सूर्यको आराधना गरी मनोवाञ्छित फल प्राप्त गर्ने गरेको विश्वास पाइन्छ । छठका अवसरमा बेहुलीझैँ सिङ्गारिएका पोखरी र तलाउमा नववस्त्रमा सजिएका श्रद्धालुको भीड लागेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटरर युट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
प्रतिक्रिया
Loading...
Subscribe to our newsletter
Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time