मनसुन बाहिरिएसँगै शुक्रबारदेखि नेपालमा चिसो बढ्ने क्रम सुरु भएको छ।
बर्खायाममा सक्रिय हुने मनसुनी वायु बाहिरिएसँगै न्यूनतम र अधिकतम तापक्रम घट्दै गएपछि चिसो बढ्न थालेको मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिए।
आइतबार साँझ छ बजेको तापक्रम १९ डिग्री सेल्सियस छ। न्यूनतम तापक्रम १३ दशमलब ७ र अधिकतम २७ डिग्री सेल्सियस हुने महाशाखाको अनुमान छ।
यो समयमा पश्चिमी चिसो वायुको प्रभाव कायम रहन्छ। आइतबार दिउँसो मुलुकको पूर्वी र मध्य पहाडी क्षेत्रमा मौसम आंशिक बदली भई एक/दुई स्थानमा हल्का वर्षा हुने सम्भावना देखिएको महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार सोमबार दिउँसो मुलुकको पूर्वी र मध्य पहाडी भू–भागमा आंशिक बदली रहने र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने देखिन्छ। सोमबार राति पूर्वी र पश्चिम भूभागमा आंशिक बदली रहने सम्भावना छ। मङ्गलबार दिउँसो पूर्वी र मध्य पहाडी भूभागमा आंशिक बदली रहने र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।