विश्वस न्युज डट कम राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

अर्थमा खतिवडाकाे प्रवेश पछि आर्थिक समृद्धि र सेयर बजार के हुन्छ ? हेर्नुहाेस्

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाण्डौ १५ फागुन  । नवनियुक्त अर्थमन्त्री डा. युवराज खतिवडाले समयको मागलाई समेत ध्यानमा राख्दै आफ्नो मान्यताअनुसार विकासलाई अगाडि बढाउने प्रतिबद्धता जनाएका छन् । उनले बाम गठबन्धनले परिकल्पना गरेको आर्थिक समृद्धिका लागि ५ बुँदे सुधारको सूत्र समेत प्रस्तुत गरेका छन् ।

सोमबार पदबहालीपछि आफ्ना प्रतिबद्धता राख्दै अर्थमन्त्री डा. खतिवडाले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् । खतिवडाले पदमा नरहँदा समेत राज्यको सुपरीवेक्षणमा खुल्ला बजारको वकालत गर्दै आएका छन् ।

‘म विकासवादी चिन्तक हुँ। पदमा हुँदा वा नहुँदा विकासकै बारेमा बोल्ने, लेख्ने र अनुसन्धान गर्ने गर्छु। विकासका विषयमा मेरा केही मान्यता छन्। तर, ती मान्यता हामीले अपनाउदै आएका मूल प्रवाहका आर्थिक नीतिभन्दा टाढा छैन।’ डा. खतिवडाले भने–‘समय, राजनीतिक प्रणाली र संवैधानिक व्यवस्थाले अघि सारेका केही थप विषयबाहेक हामी हिजोकै परम्परामा अघि बढ्छौँ।’

उनले संविधानमै लेखिएका नागरिकका मौलिक आर्थिक हकको कार्यान्वयन र राज्यको निर्देशक सिद्धान्तको बजेट प्रणालीबाट कार्यान्वयन आफ्नो कार्यकालको मुख्य लक्ष्य हुने समेत प्रष्ट्याए ।

उनले जनाएका प्रतिबद्धता(सूत्र)हरुलाई बुँदागत रुपमा हेरौं:

१. चुनावी प्रतिबद्धताको कार्यान्वयन
बाम गठबन्धनको चुनावी घोषणापत्र लेखेका अर्थमन्त्री डा. खतिवडाले निर्वाचनको क्रममा जनतासामु गरिएका प्रतिबद्धता कार्यान्वयन गर्ने प्रष्ट्याएका छन् । ती बाहेक मुलुकलाई निश्चित अवधिमा समृद्ध बनाउने र एउटा उचाईमा पुर्याउने भनी गरिएको प्रतिबद्धता समेत पूरा गर्ने बताएका छन् ।

२.निजी, सहकारी र सामुदायिक क्षेत्रसँग सहकार्य
अर्थमन्त्री खतिवडाले संविधानले मार्गनिर्देशन गरेअनुसार लोकल्याणकारी राज्य हुँदै समाजवादउन्मुख हुने क्रममा राज्यको भूमिकालाई अभिभावकीय र प्रभावकारी बनाउन सम्पूर्ण नागरिकको आर्थिक रुपमा सुरक्षणको जिम्मेवारी लिइने घोषणा गरेका छन् । त्यसका लागि राज्यले निजी क्षेत्र, सहकारी र सामुदायिक क्षेत्रसँग सहकार्य गर्ने समेत उनले प्रतिबद्धता जनाएका छन् ।

३. अनियमितता अन्त, बित्तीय प्रणालीमा सुधार
डा. खतिवडाले आर्थिक क्षेत्रको अनियमितता र सरकारी वित्त व्यवस्थापनमा अनुशासनहीनतालाई अन्त गरिने प्रतिबद्धता समेत जनाएका छन् । ‘अर्थतन्त्रमा केही समस्या र केही बिकृति छन्। तिनलाई सुधार गर्नुपर्ने दायित्व हाम्रो सामू छ।’ उनले भने–‘पहिलो कुरा, सरकारी वित्त व्यवस्थापनमा अनुशासनहीनताको अन्त्य हुनुपर्छ। म आफैँ वित्तीय अनुशासन कायम हुनुपर्छ भन्ने व्यक्ति हुँ। आर्थिक क्षेत्रका अनियमितता अन्त्य गर्नैपर्छ।’

उनले आफ्नो कार्यकालमा सरकारी वित्त प्रणालीमा पारदर्शिता, जवाफदेहिता अपनाउने र खर्चको प्रभावकारितामा विशेष जोड दिइने समेत बताए । ‘समग्रमा भन्ने हो भने सरकारी वित्त प्रणालीमा अनुशासन कायम गर्छौ।’ उनले भने–‘अब वित्तीय प्रणालीको साधन स्रोतलाई उत्पादनमा लगाउनुपर्नेछ, हामीसँग भएको सीमित सधान त्यतातर्फ लगाएनौं भने भुक्तानी असन्तुलनको अवस्था रहिनरहन्छ। निर्यातले थोरै आयात पनि नधान्ने अवस्था कायम रहन्छ।’ हालको अर्थतन्त्रको समस्या आफ्नै कारण(आन्तरिक कारण)ले उत्पन्न भएका दाबी गर्दै उनले बित्तीय प्रणालीमा रहेका संरचनात्मक समस्या समेत समाधान गरिने प्रतिबद्धता जनाएका छन् ।

४. निजी क्षेत्रसँग सहकार्य, लगानीबोर्डलाई क्रियाशील
अर्थमन्त्री खतिवडाले उच्च आर्थिक वृद्धिदर निजी क्षेत्रको परिचालनबिना असंभव रहेको उल्लेख गर्दै भनेका छन्–‘आर्थिक वृद्धिको इञ्जिन निजी क्षेत्र हो। आन्तरिक र बाह्य निजी क्षेत्रलाई परिचालन गर्नुपर्नेछ।’ उनले सामाजिक न्यायसहितको विकासका लागि निजी क्षेत्रसँग सहकार्य गर्न र निजी क्षेत्रको लगानी बढाउन प्रशासनिक सरलता कायम, नीतिगत सुधार गर्ने प्रतिबद्धता जनाएका छन् । उनले त्यसका लागि लगानीबोर्डलाई क्रियाशील बनाइने र निर्णय प्रक्रियालाई सरल र छिटो बनाइने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

५.अन्तराष्ट्रिय विश्वसनीयता बढाउने
लगानीको क्षेत्रमा अन्तराष्ट्रिय क्षेत्रको विश्वसनीयता र साख बढाइने प्रतिबद्धता समेत उनले व्यक्त गरेका छन् । उनले अन्तराष्टिय सहयोगलाई राष्ट्रिय प्राथमिकतामा प्रभावकारी ढंगले परिचालन गर्ने घोषणा समेत गरेका छन् ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
प्रतिक्रिया
Loading...